काठमाडौं- भारतीय ब्याट्सम्यान विराट कोहलीको टेस्टमा ब्याटिङ औसत ५० भन्दा तल झरेको छ। हाल कोहलीको टेस्ट औसत ४९.९६ छ। कोहलीको ब्याटिङ औसत ५० भन्दा तल झरेको यो २०१७ पछि पहिलो पटक हो। अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै ढाँचामा ५० वा सोभन्दा बढीको औसतमा रन बनाउने उनी मात्र एकल ब्याट्सम्यान थिए।
श्रीलंकाविरुद्ध बैंग्लोरमा खेलिएको डे–नाइट टेस्टको दुवै इनिङ्समा कोहली सस्तै रनमा समेटिए। कोहलीले पहिलो इनिङ्समा २३ रन र दोस्रो इनिङ्समा १३ रन बनाएका थिए। पहिलो इनिङ्समा उनलाई अफ स्पिनर धनञ्जय डि सिल्भाले र दोस्रो इनिङ्समा बायाँ हाते स्पिनर प्रविण जयविक्रमले आउट गरेका थिए।
कोहलीले २०१९ यता अन्तर्राष्ट्रिय शतक बनाउन सकेका छैनन्। कोहलीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय शतक नोभेम्बर २०१९ मा बंगलादेशविरुद्ध कोलकातामा खेलिएको डे-नाइट टेस्टमा बनाएका थिए। डे–नाइट टेस्टमा शतक प्रहार गर्ने उनी एकमात्र भारतीय ब्याट्सम्यान हुन्।
श्रीलंकाविरुद्ध मोहालीमा भएको पहिलो टेस्टमा कोहलीले आफ्नो ८ हजार टेस्ट रन पनि पूरा गरेका थिए। हाल अन्तर्राष्ट्रिय क्रिकेटमा उनको नाममा ७० शतक छन्। जनवरी २०२० देखि अहिलेसम्म कोहलीले १७ टेस्टमा ८४१ रन बनाएका छन् र उनको ब्याटिङ औसत २८.०३ मात्रै छ। यस अवधिमा उनको ब्याटले ६ अर्धशतक बनाएको छ ।
एकदिवसीय क्रिकेटमा कोहलीको प्रदर्शनमा पनि खस्कदै आएको छ। यस अवधिमा खेलेका १८ ओडिआईमा कोहलीले ९ अर्धशतकसहित ३९ को औसतमा ७०२ रन बनाएका छन्। टी–२० क्रिकेटमा कोहलीको प्रदर्शन उत्कृष्ट रहेको छ। उनले २२ टी–२० खेलमा ६ अर्धशतकसहित ४७.३५ को औसतमा ६६३ रन बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।