काठमाडौं- रोयल च्यालेन्जर बैंगलोर (आरसीबी)ले इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी सिजनका फाफ डु प्लेसिसलाई कप्तानमा नियुक्त गरेको छ।
दक्षिण अफ्रिकाका पूर्वकप्तान डु प्लेसिसलाई यस वर्षको मेगा अक्सनमा आरसीबीले किनेको थियो। यसअघि उनी चेन्नई सुपर किंग्सबाट खेल्दै आएका थिए।
फ्रेन्चाइजी कार्यक्रम 'आरसीबी अनबक्स'मा डु प्लेसिसलाई कप्तान बनाउने घोषणा गरिएको थियो। यसका साथै टोलीको जर्सी पनि सार्वजनिक गरिएको छ।
गत वर्ष आईपीएलमा विराट कोहलीले कप्तानको रूपमा अन्तिम सिजन हुने घोषणा गरेका थिए। कप्तानी छाडेपछि टोली नयाँ नामको खोजीमा थियो। डु प्लेसिसको अनुभवलाई ध्यानमा राख्दै उनले यो जिम्मेवारी पाएका हुन्। भारतका दिनेश कार्तिक सिनियर खेलाडीमा परे पनि उनलाई यो जिम्मेवारी दिइएको थिएन।
आईपीएल रेकर्डको कुरा गर्ने हो भने डु प्लेसिसले प्रतियोगितामा जम्मा १०० खेल खेलेका छन् र यो अवधिमा उनको ब्याटबाट २ हजार ९३५ रन आएको छ।
उनको ब्याटबाट २२ अर्धशतक प्रहार भएका छन्। डु प्लेसिसको उच्च स्कोर ९६ रन रहेको छ। उनले शतक बनाउन सकेका छैनन्।
प्रतियोगिताको सुरुदेखि नै आरसीबी टोलीले उपाधि जित्न सकेको छैन। यो वर्ष पनि टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ। डु प्लेसिसले आफ्नो जिम्मेवारीलाई कसरी निर्वाह गर्छन्, त्यो हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।