फाइल तस्बिर। काठमाडौं– नेपाल चौंथो तथा अन्तिम अभ्यास खेलमा श्रीलंका संयुक्त–११ सँग पराजित भएको छ।
शुक्रबार भएको खेलमा नेपाल ९२ रनले पराजित भएको हो। २ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.२ ओभरमा १ सय ४० रनमा अलआउट भयो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। उनले ६२ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
नेपालले ओपनर आसिफ शेखलाई सुरुवातमै ५ रनमै गुमाएको थियो। कुशल भुर्तेल ४८ बलमा ५ चौकासहित ३२ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरी भने २ रनमै आउट भए। आरिफ शेख १३, रोहित कुमार पौडेल २१, सोमपाल कामी ८ र विनोद भण्डारी १ रनमा आउट भए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका संयुक्त–११ ले ४८.२ ओभरमा २ सय ३२ रनमा अलआउट भएको थियो। संयुक्त ११ को लागि अनुक फ्रेर्नान्डोले ६९ बलमा सर्वाधिक ५६ रन बनाए।
ओपनर सान्दुन विराक्कोडी ४९ रनमा आउट भए। ओपनर दिलसान मुनाविरा र सान्दुन विराक्वोडीले पहिलो विकेटका लागि १० ओभरमा कुनै विकेट नगुमाई ६१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए ।
मुनाविरा १४, श्रीलंका पूर्वकप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा ३ र स्टार अलराउन्डर थिसेरा परेरा ८ रनमा आउट भए। यता, चमारा सिल्भा ६ र निसन्था १८ रनमा आउट भए।
कुमारस्वामी ३० र दिलरुवान परेरा १४ रनमा आउट भए।
नेपालका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए। बायाँ हाते स्पिनर सागर ढकालले ९ ओभरमा २ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए।
सोमपाल कामीले ९ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए। सन्दीप लामिछानेले ९.२ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए। आरिफ शेखले ६ ओभरमा १ मेडनसहित २२ रन खर्चेर १ विकेट लिए।
योसँगै नेपालको श्रीलंका भ्रमण सकिएको छ। नेपाल आईसीसी विश्वकप लिग २ अन्तर्गत युएई र पपुवान्युगिनीसँगको त्रिकोणात्मक ओडीआई सिरिजको लागि सोमबार दुबई पुग्नेछ।
नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रन र दोस्रो खेलमा नेभीलाई नै ८२ रनले हराएको थियो। बिहीबार तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।