काठमाडौं– हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ।
जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिइन्।
यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थललगायत क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उनको भनाइ छ। चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने उनको भनाइ थियो।
आयोजनाको शतप्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ।
उनका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न भइसकेको छ। उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ। त्यस्तै, पाइप विच्छ्याउने, सुरुङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ।
पनस्टेकको ७०० मिटर, तीन हजार २०० मिटरको सुरुङ खन्ने तथा पाइप विच्छाउने, अर्को दुई हजार २७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। आयोजनाको बाँधस्थल २१२ मिटर ‘ग्रसहेड’ रहेको छ। बेँसीशहर नगरपालिका वडा नंं ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ।
विसं २०७२ फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो। नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ।
सुरुमा चार अर्ब २३ करोड लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिँदै गएकाले चार अर्ब ६४ करोड रुपैयाँसम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ। यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव सात प्रतिशत, आइएमई गु्रपको ३४ दशमलव तीन प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत लगानी छ।
नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच विसं २०६९ असार १ गते पिपिए सम्झौता भएको थियो। आयोजनाको अनुसार सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।