काठमाडौं- श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले जित हात पारेको छ। श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा नेभीलाई ८१ रनले पराजित गरेको हो। नेपालको यो लगातार दोस्रो जित हो।
नेपालले प्रस्तुत गरेको १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको नेभी ३०.५ ओभरमा १ सय १५ रनमा अल आउट भयो। नेपालका लागि पवन सरार्फले ३ र दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा सन्दीप लामिछाने, विक्रम सोब र कुशल भुर्तेलले १/१ विकेट लिए।
त्यसअघि नेपालले ४३.४ ओभरमा अल आउट हुँदै १ सय ९६ रन बनाएको थियो। नेपालले टस हारेर ब्याटिङको निम्ता पाएको थियो।
नेपालका दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले। ऐरीले सर्वाधिक ६३ रन जोड्दा भिम शार्कीले २८, विवेक यादबले २६, पवन सर्राफले २२ तथा कप्तान सन्दीप लामिछानेले अविजित १४ रनको योगदान गरे।
कुशल भुर्तेल ३, रोहित कुमार पौडेल ८, बिनोद भण्डारी २, बिक्रम शोबले १, ज्ञानन्द्र मल्ल १ र सागर ढकाल ८ रनमा आउट भए।
यसअघि, सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो।
नेपालले अर्को सातापछि युनाइटेड अरव इमिरेट्स (युएई) मा हुने आइसिसी विश्वकप लिग -२ को तयारीको लागि चार अभ्यास खेल खेल्ने कार्यक्रम छ।
अब तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ। श्रीलंकामा अभ्यास खेल सकिएपछि नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।