काठमाडौं- अस्ट्रेलियाका महान् स्पिनर शेन वार्नको मृत्यु प्राकृतिक कारणबाट भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको थाइल्यान्डका एक वरिष्ठ प्रहरी अधिकारीले बताएका छन्।
उनी बिदा मनाउन थाइल्यान्डको कोह सामुई टापु गएका थिए। तर, गत शुक्रवार उनलाई मृत अवस्थामा फेला पारिएको थियो। अस्ट्रेलिया सरकारले वार्नको शव अस्ट्रेलिया लैजाने र राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने बताएको छ।
थाई प्रहरीका प्रवक्ताले वार्नको परिवारलाई पोस्टमार्टमको प्रतिवेदन उपलब्ध गराइएको बताएका छन्। उनकी पूर्वपत्नी सिमोन कालाहनबाट वार्नका तीन सन्तान छन्।
विश्वकै सर्वाधिक सफल लेग स्पिनर मानिने वार्न वार्न सन् १९९२ देखि २००५ सम्म विश्व क्रिकेटका उत्कृष्ट स्पिनर थिए। १९९२ मा भारतविरुद्ध टेस्ट क्रिकेटमा डेब्यू गरेका उनले २००७ मा सिड्नीमै इंग्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेल खेलेका थिए।
ओडिआईमा उनले सन् १९९३ मा न्यूजिल्यान्डविरुद्ध डेब्यू गरेका थिए। उनले अन्तिम खेल मेलबर्नमा एसिया ११ विरुद्ध २००५ मा खेलेका थिए। वार्न लेगस्पिनमा विश्वका सर्वाधिक सफल बलर हुन्।
उनले अस्ट्रेलियाबाट १ सय ४५ टेस्ट र १ सय ९४ ओडिआई खेल खेलेका थिए। उनले टेस्टमा ७ सय ८ विकेट र ओडिआईमा २ सय ९३ विकेट लिएका थिए।
टेस्टमा वार्न श्रीलंका स्पिनर मथैया मुरलीधरनको ८ सय विकेटपछि सर्वाधिक विकेट लिने बलरसमेत हुन्।
सन् २००० मा उनलाई क्रिकेटको प्रतिष्ठित किताब विज्डनले शताब्दीकै पाँच महान् क्रिकेटरको सूचीमा राखेको थियो। सो सूचीमा उनीसहित सर डोनल्ड ब्र्याडम्यान, सर गार्फील्ड सोबर्स, सर ज्याक हब्स र सर भिभ रिचर्ड थिए।
उनले सन् २००७मा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएपछि वार्न कमेन्टेटर, क्रिकेटविज्ञ तथा प्रशिक्षकको भूमिकामा देखा परिरहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।