काठमाडौं– नेपालले पहिलो अभ्यास खेलमा श्रीलंकाको स्थानीय टोली श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्ध उत्कृष्ट बलिङ गर्दै जित हात पारेको छ।
सोमबार सम्पन्न खेलमा नेपालले नेभीलाई १ सय ११ रनले पराजित गरेको हो।
नेपालले दिएको २ सय १५ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा नेभी २८.५ ओभरमा अलआउट हुँदै १ सय ३ रनमा समेटियो।
नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए। उनले ७.५ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिएका हुन्।
यता, ज्ञानेन्द्र मल्लले १ ओभरमा ८ रन खर्चेर २ विकेट लिए। विक्रम सोबले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए।
सागर ढकाल, कमलसिंह ऐरी र करण केसीले १/१ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ३७.१ ओभरमा २ सय १४ रनमा अलआउट भयो।
नेपालका लागि मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४३ रन बनाए ।
यता, युवा ओपनर आसिफ शेख ३६, विनोद भण्डार २२, करण केसी १६, कमलसिंह ऐरी १५, कुशल भुर्तेल, सागर ढकाल र रोहितकुमार पौडेल १३/१३ र सन्दीप लामिछानेले ११ रन बनाए।
विक्रम सोब ११ रनमा अविजित रहे। श्रीलंकाका स्पिनर अरविन्द अकुरुगोडाले ९.१ ओभरमा १ मेडनसहित ५९ रन खर्चेर सर्वाधिक ४ विकेट लिए।
यता, अवदतले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए ।
नेपालले अर्को सातापछि युएईमा हुने आईसीसी विश्वकप लिग-२ को तयारीको लागि चार अभ्यास खेल खेल्न श्रीलंका गएको हो।
नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँग खेल्ने छ। तेस्रो अभ्यास खेलमा मार्च ११ मा श्रीलंका पुलिस र मार्च १२ मा कोलोम्बो ११ सँग खेल्ने छ। कोलोम्बो ११ मा प्रथम श्रेणी खेल खेलेका खेलाडी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।