काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले गत सिजनको उपविजेता कोलकाता नाइट राइडर्सको सामना गर्ने भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार २६ मार्चमा यी दुई टोलीको भेट मुम्बईको वानखेडे स्टेडियममा हुनेछ।
यस पटकको आईपीएलमा कुल ७० लिग र चार प्लेअफ खेल हुनेछन्। यी सबै खेल ६५ दिनमा सम्पन्न हुनेछन्। यसपटक प्रतियोगिता मुम्बई र पुणेमा हुनेछ।
आईपीएल गभर्निङ काउन्सिलका अनुसार आईपीएलको फाइनल भने २९ मेमा खेलिनेछ। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा हुनेछन्। ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुने काउन्सिलले जनाएको छ। २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुनेछन्।
बाँकी १५ खेल पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा हुनेछन्। प्लेअफका खेलहरू कहाँ हुनेछन् भन्नेबारे आधिकारिक जानकारी आइसकेको छैन। सबै १० टोलीले वानखेडे र डीवाई पाटिलमा ४–४ खेल खेल्नेछन्। यसबाहेक पुणे र ब्रेबोर्नमा ३/३ खेल खेल्नुपर्नेछ।
१० टोलीलाई २ समूहमा
सन् २०११ पछि आईपीएलको इतिहासमा दोस्रो पटक १० टोलीलाई २ फरक समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स (केकेआर), राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स राखिएको छ।
यस्तै, समूह ‘बी’ मा चेन्नई सुपर किंग्स (सीएसके), सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स परेका छन्।
प्रत्येक टोलीले आफ्नो समूहमा एकअर्कासँग २ पटक खेल्ने मौका पाउनेछन्। अर्को समूहको कुनै एक टोलीसँग २ खेल हुनेछन्। यसपछि दोस्रो समूहका बाँकी ४ टोलीसँग १–१ खेल हुनेछ।
प्रत्येक टोलीले १४/१४ खेल खेल्नुपर्ने
लिग चरणमा सबै १० टोलीले १४/१४ खेल खेल्नेछन्। १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा हुनेछन् भने ७ खेल अन्य मैदानमा हुनेछन्।
प्रत्येक टोलीले ५ टोलीसँग २ पटक खेल्नेछ भने बाँकी ४ टोलीले एउटा मात्र खेल खेल्नेछन्। लिग राउण्डपछि चार प्लेअफ खेल हुनेछन्, जसको स्थान र मिति भने तय भइसकेको छैन।
यस सिजनमा पहिलो खेल भारतीय समय अनुसार दिउँसो ३:३० बजे सुरु हुने छ। साँझका सबै खेल भारतीय समय अनुसार साँझ ७ : ३० बजे सुरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।