काठमाडौं- घरेलु टोली भारतले श्रीलंकाविरुद्धको पहिलो टेस्टमा फराकिलो जित हात पारेको छ।
आइतबार सम्पन्न खेलमा भारतले श्रीलंकालाई एक इनिङ्स र २ सय २२ रनले पराजित गरेको हो। योसँगै भारतले २ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ।
पञ्जाब क्रिकेट एसोसियसनको मैदानमा भारतले टस जितेर पहिले ब्याटिङ गरेर ५ सय ७४ रनमा ८ विकेट गुमाएर इनिङ्स समाप्तीको घोषणा गरेको थियो। तर, जवाफी ब्याटिङमा श्रीलंकाले दुवै इनिङ्समा पुनरागमन गर्न सकेन।
श्रीलंका पहिलो इनिङ्समा १ सय ७४ रनमा आउट भएपछि ‘फलोअन’मा परेको थियो। तर, दोस्रो इनिङ्समा पनि श्रीलंका १ सय ७८ रनमै अलआउट भयो।
दोस्रो इनिङ्समा श्रीलंकाका लागि निरोशन डिकवेलले अविजित रहँदै सर्वाधिक ५१ रनको योगदान गरे। उनले ८१ बलमा ९ चौका प्रहार गरे।
भारतका रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले ४/४ विकेट लिए। यता, मोहम्मद शामीले २ विकेट हात पारे।
पहिलो इनिङ्समा श्रीलंकाका लागि पाथुम निसांकाले अविजित रहँदै सर्वाधिक ६१ रन जोडे। उनले १३३ बलमा ११ चौका प्रहार गरे। यता, धनन्जय डि सिल्भाले ३०, एन्जेलो म्याथ्यूजले २८, दिमुथ करुणारत्नेले २७ र चरित असालान्काले २० रन बनाए।
भारतका लागि भने रविन्द्र जडेजाले सर्वाधिक ५ विकेट हात पारेका थिए।
जसप्रित बुमराह र रविचन्द्रन आश्विनले २/२ विकेट लिए भने मोहम्मद शामीले १ विकेट हात पारे।
यसअघि भारतले पहिलो इनिङ्समा भने रविन्द्र जडेजाको अविजित १ सय ७५ रनको योगदानमा ५ सय ७४ रन जोडेको थियो।रिसभ पन्त ९६ रनमा आउट भएका थिए भने रविचन्द्रन आश्विनले ६१ रनको योगदान गरे।
श्रीलंकाका लागि सुरंगा लकमल, विश्वा फर्नान्डो र लासिथ इम्बुल्डेनियाले २/२ विकेट लिए। यता, लाहिरु कुमारा र धनन्जय डि सिल्भाले १/१ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।