म्याग्दी– राष्ट्रिय योजना आयोगले बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएको छ।
उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमनमा आएका आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले म्याग्दी खण्डमा सुरुङ र उपल्लो मुस्ताङमा कालोपत्रको अध्ययन गर्न निर्देशन दिएका हुन्। आयोजनाका प्रमुख जगत प्रजापतिले आयोगले पहिरो, कमजोर भुगोल र चट्टानी पहाड भएको म्याग्दी खण्डका दुई स्थानमा सुरुङ र उपल्लो मुस्ताङमा निर्माण भएको सडकलाई कालोपत्र गर्ने निर्देशन दिएको बताए।
सडकलाई दिगो र सुरक्षित बनाउन जोखिमयुक्त ठाउँमा सुरुङ बनाउने विकल्प रोज्नुपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो। कोरला नाका भएर व्यापार गर्न तथा परम्परागत र ऐतिहासिक गुम्बाको धार्मिक पर्यटन विकासका लागि उक्त कार्य आवश्यक भएको उनको भनाइ थियो।
आयोजनाले भिरकाटेमा ३५० मिटर सुरुङको प्रारम्भिक अध्ययन गरिसकेको प्रमुख प्रजापतिले बताए। चीन र भारत जोड्ने नेपालको छोटो दूरीको कालीगण्डकी कोरिडोर सडक राष्ट्रिय गौरवको आयोजना हो । विसं २०७४ देखि सुरु गरिएको बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा नदी कटान र बाढीपहिरोको समस्या छ। एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकको १३ मध्ये जोमसोम–कोरला खण्डको ६ खण्डको स्तरोन्नति सकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।