काठमाडौं- घरेलु टोली पाकिस्तानविरुद्धको एकदिवसीय र टी२०आई सिरिजको लागि अस्ट्रेलियन टोली इस्लामावाद पुगेको छ। अर्को शुक्रबारदेखि रावलपिण्डीमा आयोजना हुने सिरिजका लागि टोली आइतबार इस्लामावाद पुगेको हो।
अस्ट्रेलियन टोलीका कप्तान प्याट कमिन्सले पाकिस्तानमा अवतरण गरेपछि आफूले अविश्वसनीय रूपमा सुरक्षित महसुस गरेको बताएका छन्।
‘म अविश्वसनीय रूपमा सुरक्षित महसुस गर्छु र पाकिस्तान क्रिकेट बोर्डले हाम्रो सुरक्षाको राम्रो प्रबन्ध मिलाएको छ,’ कमिन्सले भने,‘आउँदा त्यहाँ धेरै सुरक्षाकर्मी थिए। हामी सिधै विमानबाट ओर्लियौं र होटेलतिर लाग्यौं।’
स्थानिय सञ्चारमाध्यमका अनुसार अस्ट्रेलियाली टोली पाकिस्तानको इस्लामावाद पुगेपछि कडा सुरक्षाको घेरामा राखिएको छ। टोली बसेको होटल र रावलपिण्डी क्रिकेट रंगशालाको सुरक्षाका लागि ४ हजारभन्दा बढी प्रहरी र सेना परिचालन गरिएको छ।
‘हामी खेल र प्रशिक्षणबाहेक अन्य समय होटलमा हुनेछौं। हामी धेरै सुरक्षाकर्मीले घेरिएकोमा सुरक्षित महसुस गरिरहेका छौं,’ उनले थपे,‘सबैले राम्रो काम गरेका छन्, त्यसैले हामी केवल क्रिकेटमा ध्यान केन्द्रित गर्न सक्छौं र २४ वर्षमा यहाँ हाम्रो पहिलो भ्रमणको मज्जा लिन सक्छौं।’
यता, पाकिस्तानी आन्तरिक मन्त्रालय सुरक्षा व्यवस्था कडा पारेको बताएको छ। ‘टोलीलाई राज्य स्तरीय सुरक्षा दिइएको छ,’ मन्त्रालयले भनेको छ।
अस्ट्रेलियाली टोलीले होटेल र स्टेडियमबीचको १५ किलोमिटर यात्रा गर्दा सडकहरू अवरुद्ध हुनेछन्। टोलीको बसलाई प्रहरीको गाडी र हेलिकप्टरबाट सेनाले स्कटिङ गर्ने छ।
स्टेडियम वरपरका भवनहरूमा स्निपरहरू राखिनेछ। यता, नजिकका व्यवसायहरूलाई खेलका दिनहरूमा बन्द गर्न आदेश दिइएको छ।
अस्ट्रेलियाली खेलाडीहरूले आफ्नो आगमनपछि २४ घण्टाको लागि सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ। तर, सोमबार प्रशिक्षणका लागि मैदानमा प्रवेश गर्न सक्नेछन्, यदि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको खण्डमा।
कमिन्सको नेतृत्वमा अस्ट्रेलियन टोलीले पाकिस्तानमा सिरिज खेल्ने सुअवसर पाएको छन्। यसअघि यस्ता खेलाडीलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले यस्तो अवसर दिएको थिएन।
कमिन्सले भने,‘पूरा पुस्ताले यहाँ क्रिकेट खेल्ने मौका पाएनन्। तर, हामीले यहाँ खेल्न पाउँदा भाग्यमानी महसुस गरेका छौं। मलाई लाग्छ पाकिस्तानमा बिस्तारै क्रिकेटको माहोल बढ्दै गएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।