काठमाडौं– प्रदेश १ ले काठमाडौंमा जारी ललितपुर मेयर वुमन्स च्याम्पियनपसिप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो अन्तिम खेलमा ललितपुर मेयर्स-११ लाई २२ रनले पराजित गरेको छ।
फाइनल यात्राबाट यसअघिनै बाहिरिएको प्रदेश १ ले अन्तिम खेलमा ललितपुरलाई २२ रनले पराजित गरेको हो।
१ सय २० रनको विजयी लक्ष्य पछ्याएको ललितपुर १९.५ ओभरमा ९७ रनमा अलआउट भयो। ललितपुरको सुमन खतिवडाले सर्वाधिक ४४ रन बनाइन्। उनले ३९ बलमा ४ चौका प्रहार गरिन्।
यता, ओपनर अन्जली विश्वकर्माले १९ र अस्मिना कर्माचार्यले १४ रन बनाइन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
प्रदेश १ की एसिला खडियाले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिइन्। सबनम राईले २ विकेट लिँदा ज्योति दनुवार र संगीता राईको नाममा १–१ विकेट रह्यो।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश १ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १९ रन बनायो।
प्रदेश १ की ओपनर काजल श्रेष्ठले सर्वाधिक ४४ रन बनाइन्। उनले ४७ बलमा ७ चौका प्रहार गरिन्। यता, कप्तान रुविना क्षेत्री ४५ बलमा ५ चौकासहित ३९ रनमा आउट भइन्।
यस्तै, अप्सरी बेगम १५ रनमा आउट भइन् । ललितपुरकी खुशी डंगोलले सर्वाधिक २ विकेट लिइन्। अनुराधा चौधरीको नाममा १ विकेट रह्यो। सोमबार उपाधिको लागि सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।