काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी२० लिग आयोजना गर्न भारतीय कम्पनीलाई दिने निर्णय गरेको छ।
कैलालीको धनगढीमा शनिबार सम्पन्न क्यानको साधारणसभाले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई लिग सञ्चालन गर्ने निर्णय संशोधन गर्दै अनुमोदन गरेको हो।
क्यानले गत वर्ष १० वर्षसम्म टी२० लिग गर्न भारतको सेभेन थ्री स्पोर्टससँग ४२ करोड रुपैयाँको प्रारम्भिक सम्झौता गरेको थियो। चतुरबहादुर चन्द नेतृत्वको क्रिकेट संघलाई त्यसबेला प्रस्तावित सम्झौताअनुसार सेभेन थ्री स्पोर्टसले चरणवद्ध रुपमा करिब ४२ करोड दिने भनिएको थियो।
प्रस्तावित ६ टिमको प्रतिस्पर्धा हुने लिगको सबै खर्च र जिम्मेवारी उक्त भारतीय कम्पनीले लिने जनाइएको थियो। उक्त कम्पनीले लिग आयोजनावापत क्रिकेट स्टेडियम, पेभिलिएन, रातीमा पनि खेल्न मिल्ने गरि लाइट जडान लगायतका पूर्वाधार विकासमा पनि सहयोग गर्ने शर्त राखेको थियो।
तर, ठूला इभेन्टहरु नै नगरेको कम्पनीलाई लिगको सम्पूर्ण अधिकार दिन खोजेको भन्दै विरोध भएपछि गत असोज २० र २१ बसेको क्यान कार्यसमितिको बैठकले रद्द गर्ने प्रस्ताव अघि बढाएको थियो।
क्यानले यसअघि उक्त कम्पनीले सरकारको अनुमति पूर्व गर्नु पर्ने सम्झौताका कार्यहरु गर्न नसकेको समेत जनाएको थियो।यद्यपि, शनिबार बसेको बोर्ड बैठकले उक्त निर्णयलाई संशोधन गर्दै लिग सञ्चालन गर्ने जिम्मेवारी सेभेन थ्री स्पोर्टसलाई नै दिएको क्यानका एक सदस्यले बताए।
‘परिमार्जन गर्ने विषयहरुमा नयाँ सहमति गर्ने भनिएको छ। यो पटक सम्झौता अवधि १० बाट घटाएर ८ वर्ष कायम गरिएको छ। रकम ४२ करोडबाट ३३ करोड रुपैयाँभन्दा बढी भनिएको छ,’ उनले भने।
यद्यपि, फेरि विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसलाई नै लिग गर्न दिन खोजिएको भन्दै ५ सदस्यले ‘नोट अफ डिसेन्ट’ राखेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।