काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ मार्च अन्तिम साताबाट सुरु हुने भएको छ। शुक्रबार बसेको आईपीएल गभर्निङ काउन्सिलको बैठकले यस वर्षको लिग २६ मार्चबाट सुरु गर्ने निर्णय गरेको हो।
काउन्सिलका अनुसार आईपीएलको फाइनल भने २९ मेमा खेलिनेछ। लिग चरणका सबै ७० खेल महाराष्ट्रमा हुनेछन्। ५५ खेल मुम्बईमा र १५ खेल पुणेमा हुने काउन्सिलले जनाएको छ। २० खेल मुम्बईको वानखेडे स्टेडियम र डा डीवाई पाटिल स्टेडियममा हुनेछन् भने १५ खेल ब्रेबोर्न स्टेडियममा हुनेछन्।
बाँकी १५ खेल पुणेको एमसीए इन्टरनेशनल स्टेडियममा हुनेछन्। प्लेअफका खेलहरू कहाँ हुनेछन् भन्नेबारे आधिकारिक जानकारी आइसकेको छैन। सबै १० टोलीले वानखेडे र डीवाई पाटिलमा ४–४ खेल खेल्नेछन्। यसबाहेक पुणे र ब्रेबोर्नमा ३/३ खेल खेल्नुपर्नेछ।
१० टोलीलाई २ समूहमा
सन् २०११ पछि आईपीएलको इतिहासमा दोस्रो पटक १० टोलीलाई २ फरक समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स (केकेआर), राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स राखिएको छ।
यस्तै, समूह ‘बी’ मा चेन्नई सुपर किंग्स (सीएसके), सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, पञ्जाब किंग्स र गुजरात टाइटन्स परेका छन्।
प्रत्येक टोलीले आफ्नो समूहमा एकअर्कासँग २ पटक खेल्ने मौका पाउनेछन्। अर्को समूहको कुनै एक टोलीसँग २ खेल हुनेछन्। यसपछि दोस्रो समूहका बाँकी ४ टोलीसँग १–१ खेल हुनेछ।
प्रत्येक टोलीले १४/१४ खेल खेल्नुपर्ने
लिग चरणमा सबै १० टोलीले १४/१४ खेल खेल्नेछन्। १४ खेलमध्ये ७ खेल घरेलु मैदानमा हुनेछन् भने ७ खेल अन्य मैदानमा हुनेछन्।
प्रत्येक टोलीले ५ टोलीसँग २ पटक खेल्नेछ भने बाँकी ४ टोलीले एउटा मात्र खेल खेल्नेछन्। लिग राउण्डपछि चार प्लेअफ खेल हुनेछन्, जसको स्थान र मिति भने तय भइसकेको छैन।
टोलीको छनोट कसरी हुन्छ ?
आईपीएलमा धेरै पटक उपाधि जित्ने र फाइनल पुग्ने आधारमा टोलीको छनोट तय गरिएको हो। यस आधारमा मुम्बईले शीर्ष सिडिङ पाएको छ भने सीएसकेलाई दोस्रो सेडिङ दिइएको छ। केकेआर तेस्रो र सनराइजर्स चौथो स्थानमा छ। यस्तै, बाँकी टोलीको छनोट पनि तय भएको छ।
समूह ‘ए’ मा १, ३, ५ र ७ को टोली छ। त्यसैगरी समूह ‘बी’ मा टोली सिडिङ नम्बर २, ४, ६ र ८ रहेको छ। लखनऊ र गुजरात नयाँ टोली हुन्। समूह ‘ए’ मा लखनउ र समूह ‘बी’ मा गुजरात परेको छ।
कुन-कुन टोलीले २/२ खेल खेल्नेछन्?
समूहमा रहेका प्रत्येक टोलीले २/२ खेल खेल्नेछन्। साथै, प्रत्येक टोलीले अर्को समूहको एउटै स्थानमा रहेको टोलीसँग २ खेल खेल्नेछन्।
केकेआरले आफ्नो समूहका सबै टोलीहरू जस्तै : मुम्बई, राजस्थान, दिल्ली र लखनउसँग २/२ खेल खेल्नेछ। केकेआर सिडिङका आधारमा समूह ‘ए’ मा दोस्रो स्थानमा छ। योसँगै हैदरावाद समूह ‘बी’ मा छनोटका आधारमा दोस्रो स्थानमा छ। त्यसैले केकेआर र हैदरावाद टोलीबीच पनि २ खेल हुनेछन्।
एउटै समूहका टोलीले एउटै पोजिसनमा रहेको टोलीबाहेक अर्को समूहका सबै टोलीसँग एक/एक खेल खेल्नेछन्। अर्थात् केकेआरको टोलीले समूहमा हैदरावादबाहेक अन्य सबै टोलीसँग १/१ खेल खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।