काठमाडौं– सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी २० क्रिकेट प्रतियोगितामा प्रदेश १ माथि ६ विकेटको शानदार जित हात परेको छ। यो जितसँगै सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ।
शुक्रबार भएको खेलमा ५३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १० ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
सुदूरपश्चिमका लागि विन्दु रावलले २७ रन बनाइन्। यता, ऋतु कनोजिया ९ रन, रेवति धामी ४ र रुवि पोद्दार २ रनमा आउट भइन्।
कविता कुँवर ६ र सम्झना खड्का १ रनमा अविजित रहिन्। प्रदेश १ की कप्तान रुविना क्षेत्रीले सर्वाधिक २ विकेट लिइन्।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश ११८.४ ओभरमा ५२ रनमा अलआउट भयो।
प्रदेश १ की संगीता राईले सर्वाधिक १२ रन बनाइन्। सबनम राईले १० रन बनाइन्।
अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान रुविना क्षेत्री ८, काजल श्रेष्ठ ७, अप्सरी बेगम २ रनमा आउट भइन्।
सुदूरपश्चिमकी बायाँ हाते तीव्र गतिकी बलर ईश्वरी विष्टले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ४ विकेट लिइन्।
कविजा जोशी र सम्झना खड्काले २–२ विकेट लिइन्। कविता कुँवर र ऋतु कनोजियाले १–१ विकेट लिइन्।
अब सुदूरपश्चिमले शनिबार लुम्बिनी प्रदेशलाई हराए फाइनलमा स्थान बनाउने छ। सुदूरपश्चिमले ३ खेलमध्ये दुईमा जित हात पारेको छ। प्रदेश १ ले भने ३ मध्ये दुई खेलमा पराजय भोगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।