काठमाडौं- ओपनर मोहम्मद वासिमको कीर्तिमानी शतकमा युएईले आईसीसी टी२० विश्वकप ग्लोबल छनोट ‘ए’ को उपाधि जितेको छ। बिहीबार फाइनलमा युएईले टेस्ट टोली आयरल्यान्डलाई ७ विकेटले हराउँदै उपाधि जितेको हो।
१ सय ६० रनको विजयी लक्ष्य पछ्याएको युएईले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। युएईको जितमा ओपनर वासिमले शतकीय विजयी इनिङ्स खेले। उनले ६६ बलमा ७ चौका र ८ छक्कासहित १ सय १२ रन बनाए। उनी युएईबाट टी२० आईमा दुई शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।
यता, रोहन मुस्तफा३५ रनमा अविजित रहे। उनले ३७ बलमा २ चौका प्रहार गरे। चिराग सुरी ३ र वृत्य अरविन्द शून्यमा आउट भए। आयरल्यान्डका जोश लिटिलले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए।
त्यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड १९.४ ओभरमा १ सय ५९ रनमा अलआउट भएको थियो।
आयरल्यान्डका ह्यारी टेक्टरले सर्वाधिक ५० रन बनाए। उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे। यता, शेन गेटकेटले ३०, मार्क आदिर २०, ब्यारी माकर्थी १५, पउल स्टर्लिङ १२ र लोर्कान टेकर २० रनमा आउट भए।
युएईका तीव्र गतिका बलर जहुर खानले सर्वाधिक ३ विकेट लिए। युएई र आयरल्यान्ड अस्ट्रेलियामा हुने टी२० विश्वकपका लागि छनोट भइसकेको छ।
युएईले सेमिफाइनलमा नेपाललाई ६८ रनले हराउँदै आगमी अक्टोबर-नोभेम्बरमा हुने विश्वकपमा स्थान बनाएको थियो। आयरल्यान्डले ओमानलाई ५६ रनले हराउँदै विश्वकपमा स्थान पक्का गरेको थियो। नेपाल भने तेस्रो स्थानमा रहँदै बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।