काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र युवा ओपनर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी–२० आई विश्व वरियतामा ठूलो सुधार गरेका छन्।
बुधबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियातमा कुशल ३९औं स्थानमा उक्लिएका छन्। उनको यो वरियता अहिलेसम्म कै उत्कृष्ट हो।
यसअघि आईसीसीले फागुन पहिलो साता सार्वजनिक गरेको वरियतामा भुर्तेल ६५औं स्थानमा पुगेका थिए।
यता, दीपेन्द्रसिंह ऐरी ५०औं स्थानमा उक्लिएका छन्। यसअघि दीपेन्द्र ५२ औं स्थानमा थिए।
दीपेन्द्रले चार देश सम्मिलित टी–२० आई सिरिज र टी–२० विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले ओमानमा सम्पन्न चार देश सम्मिलित टी–२० आई सिरिजमा ओमानसँगको खेलमा ७३ रनको अविजित इनिङ्स खेलेका थिए।
यता, युएईसँग ४१ र आयरल्यान्डसँग २८ रन बनाउनुको साथै ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए।
विश्वकप छनोटका खेलमा पिलिपिन्ससँग ८३, क्यानडासँग २७ र युएईविरुद्ध ३८ रन जोडेका थिए। यता, कुशलले फिलिपिन्सविरुद्ध १ सय ४ रनको शतकीय इनिङ्स खेलेका थिए। यता, क्यानडाविरुद्ध ३४ रन जोडेका थिए।
बलिङतर्फ कप्तान सन्दीप ४३ औं स्थानमा उक्लिएका छन्। यसअघि उनी ६३ औं स्थानमा थिए।
सन्दीपले अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स र दक्षिण अफ्रिका कागिसो रबाडाजस्ता विश्वस्तरिय बलरलाई वरियतमा पछि पारेका छन्।
कमिन्स ४७औं र रबाडा ४८औं स्थानमा छन्। सन्दीपले विश्वकप छनोटमा ओमानविरुद्ध २, क्यानडा र फिलिपिन्ससँग ३-३ विकेट लिएका थिए।
अर्का तीव्र गतिका बलर अभिनाश बोहराले एकै पटक १२ स्थान सुधार गरेका छन्। उनी ८६औं स्थानमा छन्। अभिनाशले सिरिजमा ओमानसँग ३ र आयरल्यान्डसँग २ विकेट लिएका थिए। क्यानडासँग २ र युएईसँग तीन विकेट लिएका थिए।
टी२० आई वरियतामा भने नेपाल दुई स्थान खस्किँदै १५औं स्थानमा पुगेको छ। यसअघि नेपाल १३औं स्थानमा थियो। ओडीआई वरियतामा भने १६औं स्थानमा छ।
नेपाल विश्वकप छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै टी२० विश्वकप गुमाएको थियो। नेपालले तेस्रो स्थानको लागि ओमानसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।