काठमाडौं– सोनु खड्काको कसिलो बलिङमा विभागीय टोली एपीएफले ललितपुर मेयर महिला टी २० च्याम्पियनशीपमा लगातार दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा एपीएफले सुदुरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।
सुदुरपश्चिमले दिएको ९० रनको सामान्य लक्ष्य एपीएफले १६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। एपीएफको जितमा रोमा थापाले अविजित रहँदै सर्वाधिक २३ रनको इनिङ्स खेले। यता, ममता चौधरी १४ रनमा अविजित रहिन्।
ज्योति पाण्डेले ११, इन्दु बर्माले १०, सरिता मगरले ९ रन बनाइन्। सुदुरपश्चिमका लागि ईश्वरी विष्टले सर्वाधिक दुई विकेट लिइन्।यस्तै, रितु कनोजियाले एक विकेट लिइन्।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमा अलआउट हुँदै ८९ रन बनाएको थियोे।
सुदूरपश्चिमका लागि कविता कुँवरले सर्वाधिक १८ रन बनाइन्। यता, डोली भट्टले ११ रन बनाउदा अन्य ब्याटरले भने गतिलो खेल प्रदर्शन गर्न सकेनन्।
एपीएफका लागि सोनु खड्काले सर्वाधिक ३ विकेट लिइन्। यता। करुणा भण्डारी र सरिता मगरले समान दुई–दुई विकेट लिइन् भने राजमती ऐरीले १ विकेट हात पारिन्।
यसअघि एपीएफले आफ्नो पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो। सुदुरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।