काठमाडौं- कुशल भुर्तेलको करिअरकै पहिलो शतकको मद्दतमा नेपालले आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा फिलिपिन्सलाई २१९ रनको विशाल लक्ष्य दिएको छ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१८ रन बनाएको हो।
नेपालका लागि अविजित रहेका कुशलले १०४ रन बनाए। उनले ६१ बलमा १३ चौका र १ छक्का प्रहार गरे। यता, मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ८३ रनको आक्रमक इनिङ्स खेले। उनले ४७ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रले चौथो विकेटका लागि १४६ रनको कीर्तिमानी साझेदारी गरे। यसअघि पारस खड्का र आरिफ शेख १४५ रनको कीर्तिमान साझेदारी गरेका थिए। जसलाई कुशल र दीपेन्द्रले तोडेका छन्।
पारस र आरिफले सन् २०१९ मा सिंगापुरविरुद्धको खेलमा दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए। यता, कुशल मल्लले १० बलमा २ चौकासहित १२ रन बनाए।
घाइते शरद भेषावकर र विवेक यादवको स्थानमा मल्ललाई मौका दिइएको थियो। तर, उनले जमेर खेल्न सकेनन्। उनलाई फिलिपिन्सका मिग्गि पोडोस्केले चौथो ओभरको दोस्रो बलमा मुजाम्मिल शहजादको हातबाट क्याच आउट गराए।
त्यसअघि दोस्रो ओभरमा आसिफ शेखले शून्य रनमै विकेट गुमाए। फिलिपिन्सका तीव्र गतिका बलर ड्यानियल स्मिथले आफ्नो पहिलो ओभरको पहिलो बलमै आसिफलाई गोल्डेन डकआउट गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।