काठमाडौं– खानेपानीमन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गगरेका छन्। गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थलको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुनर्निर्माणस्थल पुगेका थिए। चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजना पुनर्निर्माणको काम गरिरहेको छ।
स्थलगत निरीक्षणमा गएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माणकार्य सन्तोषजनक ढंगले गरिरहेको बताए। अस्थायी संरचनाबाट मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य समयमै भए सबै जनशक्तिलाई पुरस्कृत गर्नेसमेत उनले बताए।
ठेकेदार कम्पनीले हाल हेलम्बु गाउँपालिकाले निर्माण गरेको पहुँच मार्गलाई ग्राभेल गर्ने, माटो र ढुङ्गाको थुप्रो हटाउने र पुरिएको सुरुङ खोतल्ने काम गरिरहेको छ । काठमाडौँमा अस्थायी रूपमा पानी पथान्तरण गर्ने १ नम्बर गेटको सुरुङको मुखसम्म खोतल्दा बाहिर कुनै पनि क्षति देखिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।