फाइल तस्बिर
काठमाडौँ– नेपाली राष्ट्रिय टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले टी२० अन्तर्राष्ट्रियमा ५०औँ विकेट लिएका छन्। ५० विकेटको कोशेढुंगा भेट्टाउने पहिलो नेपाली क्रिकेटर बनेका छन्।
सन्दीपले चार देशीय टी२० आई श्रृङ्खला अन्तर्गत आयरल्यान्डविरुद्धको खेलमा करियरको ५०औँ विकेट लिएका हुन्। त्यसका लागि उनले आयरल्यान्डका ब्याटर जर्ज डोक्रेललाई सिकार बनाए। २२ बलमा २८ रन बनाएका उनी सन्दीपको बलमा कुशल भुर्तेलको हातबाट क्याच आउट भए।
सन्दीपले कुल २९ टी२० आई खेलेका छन्। उनको एक खेलको उत्कृष्ट बलिङ ४÷२० हो। उनले २०१८ मे ३१ मा आईसीसी वल्र्ड–११ बाट वेष्ट इन्डिजविरुद्ध खेल्दै टी२० आईमा डेब्यु गरेका थिए। उक्त खेलमा एक ओभर मात्र बलिङ गर्न पाएका उनले १२ रन खर्चेका थिए।
सन्दीपले नेपालका लागि भने २०१८ जुलाई २९ मा नेदरल्यान्डविरुद्ध खेल्दै टी२० मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। उक्त खेलमा ४ ओभर बलिङ गरेका उनले ४३ रन दिए, तर विकेट लिन सकेनन्। त्यसपछि २०१९ जनवरी ३१ मा युएईविरुद्ध भएको खेलमा मात्र उनले विकेट लिन सकेका थिए।
उक्त खेलमा ४ ओभर बलिङ गर्दा २५ रन खर्चेर २ विकेट लिएका थिए। त्यसपछि खेलेका थप २६ खेलबाट ४८ विकेट लिँदै उनले ५० विकेटको कोशेढुंगा पूरा गरेका छन्। कुल २९ वटा टी२०आई खेल्दा उनी पाँच पटक विकेटविहीन भएका छन्।
सन्दीपले टी२० खेल भने ११७ वटा खेलेका छन्, जसमा १५४ विकेट लिएका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) र अष्ट्रेलियाको बिग ब्यास लिग खेल्ने उनी एक मात्र नेपाली क्रिकेटर हुन्।
उनीपछि टी२० आईमा सर्वाधिक विकेट लिने नेपाली बलर करण केसी हुन्। ३३ वटा टी२० आई खेलेका केसीले ४४ विकेट लिएका छन्। त्यस्तै ३३ नै खेल खेलेका अर्का बलर सोमपाल कामीले ३१ विकेट लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।