फाइल तस्बिर काठमाडौं- प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले विकास निर्माणको कामलाई समयमै सम्पन्न गर्नका लागि अर्थ मन्त्रालयमा समन्वय संयन्त्र निर्माण गर्नुपर्ने बताएका छन्।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सुनुवारले उक्त कुरा बताएका हुन्। उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा आर्थिक अभाव हुन दिन नहुने बताए।
राष्ट्रिय गौरवका आयोजनाका साथसाथै निर्माणको अन्तिम चरणमा पुगेका सडकहरुलाई निर्माण सम्पन्न गर्नका लागि अन्तरमन्त्रालय समन्वय संयन्त्र निर्माण गर्नुपर्ने उनको भनाइ थियो। साना-साना कमीकमजोरीका कारण निर्माण सम्पन्न हुन लागेका सडक निर्माणमा ढिलाइ हुन नदिन सम्बन्धित मन्त्रालयले ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए।
प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामाले ठूला आयोजनाहरुलाई निर्माणका क्रममा आर्थिकलगायतका समस्या हुन नदिनका लागि 'मास्टर प्लान' बनाउँदा नै विचार पुर्याउनुपर्ने बताए। सम्भावित समस्या तथा अवरोधहरुको अध्ययन गरेर मात्रै टेण्डर आह्वान गर्नसके पछि समस्या नपर्ने उनले उल्लेख गरे।
उनले नेपालमा राजमार्गहरु बनाउँदा 'मास्टर प्लान' नबनाउने गरेकाले समस्या देखापर्ने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।