काठमाडौं– जाडो महिना सुरु भएयता काठमाडौं उपत्यकाभित्र बिहान–बेलुकी झ्याप झ्याप बिजुली जाने गरेको छ। जसका कारण सर्वसाधरणले सास्ती भोग्नु पर्यो। अघिल्लो महिना र गत वर्षहरुमा पनि यस्तै समस्या देखिने गरेको थियो। आखिर किन यस्तो भइरहेको छ त?
अघिल्लो महिना नेपाल विद्युत प्राधिकरणले पत्रकार सम्मेलन गरि जाडोमा ट्रान्सफर्मरले ओभरलोड धान्न नसक्दा यस्तो समस्या भएको बताएको थियो। तर, समस्याको सामाधान अझै हुन सकेको छैन।
प्रधिकरणका अनुसार जाडो मौसममा सर्वसाधरणले हिटर, एसी, इलेक्ट्रिक गिजर चलाउँदा ट्रान्सफर्मरको क्षमताभन्दा बढी बिजुली खपत भइरहेको छ। काठमाडौं उपत्यकामा अहिले पिक आवरमा करिब पाँच सय मेगावाट बिजुलीको माग छ। पानी पर्ने र चिसो बढेको बेलामा मात्रै यस्तो खालको समस्या देखापर्ने गरेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले स्थानीयको अवरोधका कारण ट्रान्सफर्मर राख्न समस्या भइरहेको बताएको छ। प्रधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले स्थानीयको अवरोधका बाबजुद पनि वितरण प्रणली चुस्त बनाउन विभिन्न ठाउँमा ट्रान्सफर्मर फेर्ने र फिडर लोड परिर्वतन गर्ने काम भने तीब्र रुपमा भइरहेको बताए।
‘बिजुली गयो भन्ने गुनासो चाहिँ गर्ने तर, घर अगाडी ट्रान्सफर्मर राख्न नदिने गरिन्छ। कतै ओभरलोड भएर ट्रान्सफर्मर जान्छ। त्यसैले ट्रान्सफर्मरहरु थप्नु पर्ने हुन्छ। ट्रान्सफर्मर थप्न स्थानीयको अवरोध छ’, उनले भने।
उपत्यकामा करिब ३८ सय वटा ट्रान्सफर्मर जडान गरिएको भट्टराईले बताए। जसमध्ये ५०/६० वटामा समस्या आएको छ। त्यस्ता स्थानमा ट्रान्सफर्मर फेर्ने र आवश्यक परेको ठाउँमा क्षमता बढाउने, ट्रान्सफर्मरको संख्या थप्ने लगायका काम भइरहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।