काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसीलाई चुनावपछि टुंग्याउनुपर्ने प्रस्ताव गरेका छन्। आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संयुक्त बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन्।
बैठकमा देउवाले एमसीसी सम्झौता अघि बढाउन प्रस्ताव गरेका थिए। तर, प्रचण्डले भने चुनाव नजिकै आइसकेको र आउँदो वर्षभित्र सबै तहको चुनाव गरिसक्नुपर्ने भएकाले एमसीसीलाई त्यसपछि मात्र टुंग्याउनु उपयुक्त हुने धारणा राखेको बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलले बताए।
एमाले अध्यक्ष ओलीले एमसीसीका विषयमा पहिले सत्ता गठबन्धन प्रष्ट हुनुपर्ने बताएका थिए। उनले सत्ता गठबन्धनबाटै फरक फरक धारणा आएकाले आफूहरूले अहिले यस विषयमा केही पनि नबोल्ने उनको भनाइ थियो।
छलफलमा प्रचण्डले ओलीलाई एमालेले गरिरहेको संसद् अवरोध हटाउन आग्रह गरेका थिए। तर, संसद्को अवरोध खुलाउने विषयमा सत्ता पक्षले पहल लेओस् भनेर आफूहरूले जवाफ दिएको पोखरेलले बताए।
उनले संसद् अवरोध गर्ने आफूहरूले मनशाय नरहेको तर १४ जना 'गैरसांसद' राखेर संसद् चल्ने नसक्ने बताए। आफूहरूलाई संसद्मा सहभागी हुने वातावरण सत्ता पक्ष र सभामुखले नबनाएको पोखरेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।