काठमाडौं- नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय भेहीकलको चार्जिङ स्टेसन विस्तार गर्ने भएको छ। कम्पनीले नेपालको सबै स्थानलाई समेट्नेगरी अहिलेसम्म देशका विभिन्न ४० स्थानमा चार्जिङ स्टेसन स्थापना गरिसकेको जानकारी दिएको छ।
कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीय सवारीसाधनका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएको छ।
'हुन्डाईको विद्युतीय गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रिकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरु स्थापना गर्दै आएको हो। नेपालको सबै हाइवे र स्थानीय रुटहरुमा पेट्रोल पम्पको एथेस्ट उपलब्धता भएता पनि ईभी चार्जिङ पोइन्ट नभएकाले नै कम्पनीले क्रमिक रुपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
हुन्डाईले स्थापना गरेका यी नयाँ चार्जिङ स्टेसनले चालकहरुलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको छ। 'हुन्डाईका चार्जिङ स्टेसनहरु मोबाइल फोन चार्ज गरेजतिकै सजिलोसँग गाडी चार्ज गर्न सकिन्छ। हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकोले निकट भविष्यमै अरु नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको छ,' विज्ञप्तिमा उल्लेख छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले अहिले देशका प्रमुख सहरहरुमा १२ वटा डिलर तथा १८ वटा सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।