काठमाडौं– सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले धोबिखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमणको अनुगमन गरेकी छन्।
सडक अतिक्रमण नगर्न पटक–पटक सचेत गराउँदा पनि नमानेको भन्दै मन्त्री झाँक्री बुधाबार आफैं करिडोरको अनुगमनमा निस्किएकी हुन्।
सवारी साधन नै पास नहुने गरी सडक छेउमा निर्माण सामग्री राख्ने, पसल राख्ने, टेवल, कुर्सी समेत राखेर बस्ने गरिएपछि उपत्यका विकास प्राधिकरणले कानुन विपरीत सडक अतिक्रमण नगर्न सचेत गराउँदै आएको थियो।
मन्त्री झाँक्रीले बुधबार अनुगमनका क्रममा पनि सडक अतिक्रमण गर्ने काम नगर्न पुनः एक पटक सचेत गराइएको बताइन्। अब पनि नमाने उनीहरुमाथि कानुन बमोजिम कारबाही गर्ने मन्त्री झाँक्रीले चेतावनी दिइन्।
उपत्यका विकास प्राधिकरण ऐनअनुसार सडक अतिक्रमण गर्न निषेध गरिएको छ। तर ऐन विपरीत सडक अतिक्रमण गर्नेहरुलाई अब कानुन बमोजिम कारबाही गर्ने सरकारको तयारी छ।
मन्त्री झाँक्रीले सार्वजनिक स्थलहरुको अतिक्रमण हुन नदिने गरी अनुगमन गर्न पनि उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिइन्।
‘आज बिदाकै दिन भएपनि उहाँहरुलाई सचेत गराऔं भनेर अनुगमनमा आएका छौं। अतिक्रमण नगर्नोस् भनेर माइकिङ गर्ने लगायतका काम गर्दै आएका छौं। तर, उहाँहरुले मान्नु भएन र आज सचेत गराएका छौं,' मन्त्री झाँक्रीले भनिन्।
मन्त्री झाँक्रीको अनुगमनका क्रममा प्रहरीले सडकमा राखिएका निर्माण सामग्री, पसल आदि हटाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।