फाइल तस्बिर काठमाडौं– कोटेश्वर–जडीबुटी सडक विस्तारको काम आगामी चैतसम्ममा सकिने भएको छ। सडकको एकातर्फको काम सकिएको छ भने अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको आयोजनाले जनाएको छ।
दक्षिणतर्फ विस्तार सकिएको र उत्तरतर्फ काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौंले बताएको छ। दक्षिणतिर चिसो नआउँदा नै सकिएको तर उत्तरतर्फ तल्लो भागको काम सकाउँदा नै चिसो बढिसकेको डिभिजनका सूचना अधिकार इञ्जिनियर सुमित केसीले बताए। ‘चिसो सकिनासाथ कालोपत्र पनि गर्न सकिनेछ,’ उनले भने।
उत्तरतर्फको निर्माणस्थलमा रहेको एउटा घर रहेकाले पनि समस्या भएको डिभिजनले बताएको छ। घरधनी स्थानान्तरणका लागि सहमत नभए पछि अहिले सो विषय मुद्दामा छ। कोभिड संक्रमणका लागि असर पुगेका अरू ठेक्का जसरी यो ठेक्काको अवधि आगामी चैतसम्मका लागि थप भएको छ।
त्यति बेलासम्म निर्माण सकिने इञ्जिनियर केसीले बताए । काममा अवरोध नभए ‘बेस’ एक सातामा र ‘ओभरले’ एक साता गरी जम्मा दुई सातामा सम्पन्न हुने उनको भनाइ छ।
काठमाडौं उपत्यका भित्रने एक प्रमख नाकाको रूपमा यो सडक रहेको छ। खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि यही नाका प्रयोग हुन्छ।
अरनिको, मध्यपहाडी, बीपीलगायतका राजमार्गका कारण पनि सडकको चाप बढिरहँदा यहाँ सडक घण्टौं जाम हुने गरेको थियो। सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा भीडभाड हुने गरेको थियो। चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहज रूपमा हुने अपेक्षा गरिएको छ। कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माण सुरू गरिएको थियो। विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो।
सडक निर्माण भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका सवारीसाधन जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन्। चोक नै पार गर्नुपर्दा केही समय रोकिए पनि चोक पार नगर्ने सवारीसाधन भने रोकिने छैनन्। सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना छ। यो सडकमा दैनिक लामो समयसम्म जाम हुँदा यात्रु र सवारीचालक मारमा पर्ने गरेका छन्। तीनकुनेबाट लोकन्थलीसम्म नै जाम हुँदा केही किमी यात्रा गर्न घण्टौं लाग्ने गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।