काठमाडौं– काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ।
आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन्।
पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए। उनले स्थानीयहरुको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने पनि बताए।
पैदल यात्रुको भीड र दुर्घटना भइरहने ठाउँलाई प्राथमिकतामा राखेर आकाशे पुल निर्माण भइरहेको शाक्यले बताए।
पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ भने २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ।
३३ मिटर लम्बाई र २ मिटर चौडाइको हुने दुवै पुलको लागत भ्याटसहित १ करोड ३० लाख ४२ हजार रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।