काठमाडौं– नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै एपीएफ दोस्रोपटक च्यापियन बनेको हो।
एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको पुलिसले २० ओभर ७ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो।
एपीएफविरुद्ध खराब सुरुआत गरेको पुलिसका लागि चौंथो नम्बरमा क्रिजमा उत्रिएका दीपेन्द्रसिंह ऐरीले संघर्षपूर्ण इनिङ्स खेल्दै सर्वाधिक ६५ रन बनाए।
यस्तै, दिलिप नाथले २३ रन जोड्दा आरिफ शेखले १२ रन बनाए अनिल शाह १० रन आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफका किशोर महतोले सर्वाधिक ३ विकेट लिए। यता, अविनाश बोहरा, दीपक बोहरा र अमर राउटेलाले १/१ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रनको योगफल बनाएको थियो।
एपीएफका लागि अमरसिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे। यस्तै, लोकेश बम २७ रन जोडेर पेभेलियन फर्के।
सन्दीप जोराले २४ रन बनाउँदा कप्तान शरद भेषवाकर १९ रनमा आउट भए।
पुलिसका लागि स्पीनरद्वय सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान ३/३ विकेट लिँदा गुलशन झाले २ विकेट लिए। यता, आरिफ शेख र योगेन्द्रसिंह कार्कीले १ /१ विकेट लिए।
उपाधिसँगै एपीएफले नगद ५ लाख प्राप्त गरेको छ। उपविजेता बनेको पुलिसले ३ लाख प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।