मेलम्ची– हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको श्री इञ्जिनियरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिनाभित्र नै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।
मेलम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुंगे पुल र ७ वटा पक्की पुल बगाएको थियो। हेलम्बु प्रवेशको एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुल साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र केही दिनमा उद्घाटन गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए।
रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।
गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्त्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।
पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।