काठमाडौं– लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादन थाल्ने भएको छ। परीक्षण उत्पादनका लागि आवश्यक तयारी पूरा भएको उद्योगले जनाएको छ।
हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगको भट्टीमा चुनढुङ्गा राखेर उत्पादनको तयारी थालिएको छ। व्यावसायिक उत्पादनका लागि थप दुई महिना लाग्ने उनले बताए। डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो।
नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत् उपलब्ध भएको थियो। उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ। ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ।
आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिङ्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ। प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ। अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ। अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिङ्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ। भिआरएम अत्याधुनिक प्रविधि हो।
अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज प्रुफ र ओस नलाग्ने उद्योगले जनाएको छ। वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए।
उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेसन सञ्चालनमा ल्याइएको थियो। धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेसनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि गत मंसिरको दोस्रो सातादेखि उद्योगमा नियमितरुपमा बिजुली उपलब्ध भएको छ। प्रसारण लाइन निर्माण उद्योग आफैंले गरेको हो।
कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ। लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रुपैयाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ। नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो।
अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।