काठमाडौं– राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ।
समितिको मंगलबार बसेको बैठकमा स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फास्ट ट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरकारको सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ।
नेपाल सरकारको लक्ष्य अनुरुप आर्थिक वर्ष २०८०/८१ सम्ममा काम सम्पन्न हुनेमा दुविधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताए।
तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई समितिको आगामी बैठकमा बोलाएर आवश्यकता अनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उनले बताए।
समितिको मंगलबारको बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणको कामले गति लिनुपर्ने धारणा राखेका थिए। समितिको आगामी बैठक छिट्टै राखेर काठमाडौं–तराई/मधेस द्रुतमार्ग निर्माणको कामलाई गति दिनेगरी आवश्यकता अनुसार निर्देशन दिइने समिति सभापति बिडारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।