फाइल तस्बिर जाजरकोट– जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण हुने भएको छ। जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ।
सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए।
जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ। सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने पूर्वमन्त्री बस्नेतले बताए।
जाजरकोटबाट जुम्ला जान अहिले करिब १० घण्टा उकालो हिँड्नुपर्छ। सुरुङमार्ग निर्माण भए उक्त बाटो ३० मिनेटमा यात्रा गर्न सकिनेछ। यो सुरुङमार्ग निर्माण भए लुम्बिनी, दाङ, सल्यान, जाजरकोटबाट जुम्ला हुँदै रारा जोड्ने छोटो सर्किटसमेत बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।