फाइल तस्बिर काठमाडौं- विकास तथा प्रविधि समितिले दार्चुला-टिंकर सडकखण्ड निर्माणमा भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिले भारतीय पक्षसँग छलफल गरी समस्या समाधान गर्ने वातावरण बनाउन निर्देशन दिएको हो। त्यस्तै समितिले जोखिम लिएर निर्माण कार्यमा काम गर्ने नेपाली सेनालाई चालु आर्थिक वर्षभित्र लागू हुनेगरी जोखिम भत्ताको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ।
समितिकी सभापति कल्याणी खड्काले बैठकमा बोल्दै दार्चुला-टिंकर सडकखण्डको रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ढुंगाको चट्टान फोर्दा ढुंगाका टुक्राहरु सीमापारी जाने भएकाले समय-समयमा भारतीय पक्षले काम अगाडि बढाउन अवरोध गरेको बताइन्। अवरोधले काममा समस्या भएकाले भारतीय पक्षसँग समन्वय गरी काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको उनले बताइन्।
उनले सरकारले दुर्गम क्षेत्रमा सडक निर्माणमा काम गर्ने नेपाली सेनालाई जोखिम भत्ताको व्यवस्था गर्न निर्देशन दिइन्। समितिले कर्णाली करिडोर तथा दार्चुला सडकखण्ड निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गर्न निर्देशन दिएकी छन्।
समितिले सरकारलाई स्थलगत अध्ययन अवलोकन भ्रमण प्रतिवेदन २०७८ माथि छलफललाई आवश्यक परिवर्तन गरिएका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशनसमेत दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।