फाइल तस्बिर काठमाडौं– पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिएको नयाँ मोदी (पर्वत) र कास्कीको लाहाचोक १३२ केभी डबल सर्किट विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ मोदी–लेखनाथ प्रसारण लाइनअन्तर्गत कास्कीको लाहाचोकसम्मको खण्ड निर्माण पूरा भएपछि बुधबारदेखि प्रसारण लाइन सञ्चालन गरिएको हो। लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान गरी चार्ज गरिएको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए।
नयाँ मोदीदेखि लाहाचोकसम्म ६८ वटा टावर निर्माण गरिएको छ। थप ७० वटा टावर निर्माण गरी लेखनाथसम्म विस्तार हुने प्रसारण लाइनको ४० वटा टावर निर्माणाधीन अवस्थामा छन्। ३० वटा टावर निर्माणका लागि स्थानीयवासीको विरोध र वन कार्यालयको स्वीकृति प्राप्त नहुँदा समस्या भएको आयोजना प्रमुख अग्रवालले बताए।
आगामी हप्ताभित्र ११ केभीका लाहाचोक, धाचोक, धम्पुस, धिताल र पुरनचौर विद्युत् वितरण फिडर सञ्चालनको तयारी गरिएको छ। प्रसारण लाइन निर्माणका लागि भारतको एक्जिम बैंक अफ इन्डियाले सहुलियतपूर्ण ऋण दिएको छ।
आयोजना निर्माणका लागि दुई अर्ब ५० करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ। असार मसान्तसम्म लाहाचोकदेखि लेखनाथसम्मको प्रसारण लाइन निर्माण सम्पन्न हुने उनले बताए।
नयाँ मोदी प्रसारण लाइनले निर्माण हुँदा पर्वतको मोदी खोलामा निर्माणाधीन मध्यमोदी जलविद्युत् आयोजना (१८ मेगावट), माथिल्लो मोदी जलविद्युत् आयोजना (६० मेगावाट), लाहाचोकमा मन्दाकिनी हाइड्रोपावर (चार मेगावाट), गण्डकी हाइड्रोपावर(सात मेगावाट), लुम्बिनी हाइड्रोपावर आयोजना (२५ मेगावाट), सेती करुवा हाइड्रो आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न सहज हुनेछ। लाहाचोक सबस्टेसनबाट कास्कीको अन्नपूर्ण गाउँपालिका र माछापुच्छे गाउँपालिकालाई विद्युत् आपूर्ति हुनेछ।
लामो लाइनबाट हुने विद्युत् आपूर्तिमा ट्रिपिङ र लो भोल्टेजको समस्या हुन्छ। आयोजना निर्माणको काम सन् २०२१ जुलाई २१ बाट सुरु भएको थियो। असार मसान्तसम्म काम सकिने आयोजनाको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।