काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त प्रशिक्षक पुबुदु दसानायकेले नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेको राष्ट्रिय क्रिकेट टोलीका कप्तान परिवर्तन नहुने बताएका छन्।
बिहीबार क्यानले गरेको पत्रकार सम्मेलनमा बोल्दै पुबुदुले क्यानले नियुक्त गरेको कप्तान सन्दीप लामिछानेलाई परिवर्तन गर्न नसकिने बताएका हुन्।
क्यानले ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गर्दै कारबाहीसमेत गरेको थियो। उपकप्तानको जिम्मेवारी भने कसैलाई दिइएको छैन।
'कप्तान परिवर्तन हुँदैन। क्यानसँग कप्तान नियुक्त गर्ने अधिकार हुन्छ। क्यानलाई सम्मान गर्छु,' पुबुदुले पत्रकार सम्मेलनमा भने।
उनका अनुसार सन्दीपकै कप्तानीमा ग्लोबल छनोटका लागि प्रारम्भिक छनोटका ३० खेलाडी बोलाइने छ। प्रारम्भिक छनोटमा समेटिने खेलाडीको नाम बेलुकी वा भोलि बिहान सार्वजनिक गरिने उनले बताए।
'टी२० विश्वकप छनोट फेब्रुअरीको मध्येमा हुँदैछ। सम्पूर्ण योजना पूरा भइसकेको छ। हामी चाँडै क्लोज क्याम्प गर्दैछौं,' प्रशिक्षक पुबुदुले भने, 'दुई चरणमा क्याम्प आयोजना गर्नेछौं।'
तत्कालिन मुख्य प्रशिक्षक डेव ह्वाटमोरले भदौमा राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न मंगलबार नेपाल आइपुगेका थिए।
यसअघि नेपालले पुबुदुको प्रशिक्षणमा नेपालले सन् २०११ देखि २०१५ सम्म खेलेको थियो। नेपालले डिभिजन चार र तीनको उपाधि जित्दा पुबुदुले नेपाली टोलीको प्रशिक्षण सम्हालेका थिए।
यता, क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटलाई टी२० फर्म्याटमा गर्न प्रस्ताव गरेको छ।
पत्रकार सम्मेलनमा बोल्दै म्यानेजर विनोद दासले हालसम्म ५० ओभर खेललाई २० ओभरमा झार्न प्रस्ताव गरेको जानकारी दिए।
'हामीले ग्लोबल छनोटमा टी२० खेललाई सहयोग हुन्छ भनेर एकदिवसीयलाई टी२० मा लैजान आग्रह गरेका हौं। उहाँहरू सकारात्मक हुनुहुन्छ,' दासले भने।
पीएकपलाई राखेपले आर्थिक सहयोग गर्दै आएको छ। यसबारे ठोस निर्णय छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।