काठमाडौं– नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ। नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ मोदी–लाहाचोक खण्डको निर्माण सम्पन्न गरी बुधबारदेखि सञ्चालनमा आएको हो।
लाहाचोकमा १३२/३३ केभी सबस्टेसनमा ३० एमभीएको पावर ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरी लाइन चार्ज गरिएको छ। निर्माण सम्पन्न सबस्टेसनबाट कास्कीको माच्छापुच्छ्रे र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति दिइनेछ।
यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिका लागि लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायतका समस्या थियो। अब लाहाचोक सबस्टेशनबाट आपूर्ति दिँदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाउँनेछन् भने विद्युत चुहावट समेत घट्नेछ’, उनले भने।
आयोजना अन्तर्गत यस खण्डमा ६८ वटा टावर निर्माण गरिएको छ भने २१ किलोमिटर तार तानिएको छ। एक्जिम बैंक अफ इण्डियाको सहुलियत पूर्ण ऋणमा निर्माण गरिएको आयोजना अन्तर्गत लाहाचोक लेखनाथ प्रसारण लाइन निर्माणधीन रहेको छ।
सन् २०१८ जुलाई २१ बाट सुरु भएको नयाँ मोदी–लाहाचोक खण्डको निर्माण स्थानीयको अवरोध साथै वन क्षेत्रको समस्याका कारणले प्रभावित भइरहेको आयोजना प्रमुख रोशन अग्रवालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।