काठमाडौं– अपि पावर कम्पनीले धनुषाको ढल्केबरमा निर्माण गरेको एक मेगावाटको सौर्य विद्युत् आयोजना सोमबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।
धनुषाको मिथिला नगरपालिका–१ स्थित ढल्केबर सौर्य विद्युत् आयोजनाको विद्युत् ११ केभी प्रसारण लाइनमार्फत दुई किलोमिटरको दूरीमा रहेको ढल्केबर सब–स्टेसनमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणले आयोजनाले उत्पादन गरेको विद्युत् प्रतियुनिट ७ दशमलव ३० रुपैयाँमा खरीद गर्नेछ।
कम्पनीले साढे चार बिघा क्षेत्रफलमा ४५० वाटका २ हजार ६८८ वटा सौर्य प्यानल राखेर विद्युत् उत्पादन गर्न सुरु गरेको हो। ९ करोडभन्दा बढी रुपियाँ लागत अनुमान गरिएको आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गरेको छ।
सौर्य विद्युत् आयोजना प्रसारण प्रणालीमा जोडिएपछि धनुषाको विद्युत् वितरण प्रणालीमा सुधार भई यहाँका उद्योगहरूमा दिगो र गुणस्तरीय विद्युत् प्रवाह हुने अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले दाबी गरेका छन्।
विद्युत् उत्पादनको क्षेत्रमा काम गर्दै आएको कम्पनीले यसअघि ८ दशमलव १० मेगावाटको बुटबलको तिलोत्तमामा, आठ मेगावाटको परवानीपुर, पाँच मेगावाटको रौतहटको चन्द्रनिगाहपुरमा र सिमरामा एक मेगावाट सौर्य विद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।