काठमाडौं– सरकारले मेलम्चीको पानी तत्काल काठमाडौं उपत्यकामा ल्याउने गरी काम गरिरहेको खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरीले बताएका छन्।
खानेपानी तथा सरसफाइ मन्त्रालय नेपाल निजामती कर्मचारी युनियनको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा उनले काठमाडौँबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो खुवाउनका लागि आफूले गृहकार्य गरिरहेको जानकारी दिएका हुन्।
‘पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको सपना पूरा गर्न पनि मैले मेरै कार्यकालमा राजधानीबासीलाई मेलम्चीको पानी खुवाउँछु,’ उनले भने। गतवर्ष परीक्षण गरी मेलम्चीको पानी काठमाडौं ल्याइएकोमा गत असार १ र साउन १७ गते मेलम्ची नदीमा आएको बाढीका कारण खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको छ।
मन्त्री चौधरीले कर्मचारीको सहयोगमा काठमाडौँबासीलाई चाँडोभन्दा चाँडो मेलम्चीको पानी खुवाउने आफ्नो योजना रहेको भन्दै आफूहरुले बनाएको नियम, कानून र योजना कार्यान्वयन गर्ने जिम्मेवारी कर्मचारीको भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।