फाइल तस्बिर काठमाडौं– विगत आठ वर्षदेखि अलपत्र परेको भक्तपुर–नगरकोट सडक निर्माण आगामी चैत १५ गतेभित्र सम्पन्न हुने भएको छ। कमलविनायक–नगरकोट सडक निर्माण आयोजना तथा निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले चैत १५ भित्रै सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
सडक छिटो निर्माण सम्पन्नका लागि दबाब दिन चाँगुनारायण नगरपालिकाले बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा आयोजनाका तर्फबाट सहभागी आयोजना प्रमुख गौतम श्रेष्ठले सातौं पटक थपिएको म्यादभित्रै कुनै पनि हालतमा सडक निर्माण सम्पन्न गरेर फर्कने प्रतिबद्धता व्यक्त गरेको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा शैलुङ कन्स्ट्रक्सनका प्रतिनिधि माधव खड्काले यो सडकमा निर्माण कम्पनीका तर्फबाट गम्भीर व्यवस्थापकीय कमजोरी भएको स्वीकार्दै अब म्याद थप नहुने गरी निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए। कम्पनीका अर्का प्रतिनिधि अनुप अधिकारीले यो सडक निर्माणमा ढिलाइ भएको जिम्मेवारी लिँदै आगामी चैत १५ गतेभित्र सबै निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको नगरपालिकाले जनाएको छ।
कार्यक्रममा नगरपालिकाले सबै दलका पार्टी अध्यक्ष वा प्रतिनिधिलाई कार्यक्रममा बोलाए पनि नेकपा (एमाले) र नेमकिपाबाहेक अन्य दलका प्रतिनिधि सहभागी थिएनन्। सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।