बेनी– गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम सडक खण्डको स्तरोन्नति र कालोपत्र गर्ने काम ६५ प्रतिशत सम्पन्न भएको छ। ११ मिटर फराकिलो सडकमा बर्खाको समयमासमेत नियमित यातायातका साधन सञ्चालन हुनेगरी स्तरोन्नतिको काम सम्पन्न भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए। उनका अनुसार जोमसोम–कोरला खण्डको ८५ प्रतिशत र बेनी–जोमसोम सडक खण्डको ६५ प्रतिशत काम सम्पन्न भएको छ।
बेनी–जोमसोम–कोरला सडकखण्डमा बेलिब्रिज विस्थापित गरी धमाधम पक्की पुल निर्माण गरिएको उनले बताए। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने उक्त सडकखण्डको स्तरोन्नतिसँगै नियमित र सहज रुपमा यातायातका साधन सञ्चालनका लागि आठवटा पक्की पुल निर्माण गरिएको आयोजना प्रमुख प्रजापतिको भनाइ छ।
कालीगण्डकी करिडोरका १३ वटा खण्ड अन्तर्गत आयोजनाको कार्य क्षेत्र बागलुङ र पवर्तको सिमानामा रहेको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म पर्छ।
सडकखण्डको म्याग्दी र मुस्ताङका विभिन्न ठूला र सहायक खोलामा आवश्यक पुल निर्माणधिन अवस्थामा र सञ्चालनमा आएपछि यात्रुलाई सहज भएको छ। उनका अनुसार म्याग्दीको गलेश्वरमा राहुघाट खोलामाथि ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर र पाण्डाखोलामा ५० मिटर लामो पुल बनेको छ। पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीकै अन्नपूर्ण गाउँपालिकाको महभीर र पोखर बगरस्थित कालीगण्डकीमा ७० र ८० मिटर लामो पुल निर्माण गरेको छ।
मुस्ताङको बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको उनले बताए।
गतवर्षको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ। बाढीले दुवै स्थानमा अन्तिम चरणमा पुगेको पुल तहसनहस बनाइदिएपछि तत्काल पक्की पुलको सम्भावना नभएकाले नमुना परिवर्तन गरी बेलिब्रिज निर्माण गरिने आयोजनाले जनाएको छ। मुस्ताङकै पाण्डाखोलाले धार परिवर्तन गरेपछि र उपल्लो मुस्ताङको छुसाङमा डोलिडारले बनाएको पुलले खोलाको सबै भाग समेट्न नसकेपछि ५० मिटर लामो अर्को पुल बनाउन प्रस्तावसमेत गरिएको छ।
आयोजनाको म्याग्दी खण्डमा बाढीपहिरो र मुस्ताङमा बेमौसमी बाढीले काम गर्न समस्या भए पनि सडकखण्डमा निर्माणाधीन अवस्थामा रहेका १२ वटा मोटरेबल पुलको ठेक्का सम्झौतामा खरिद ऐन अनुसार थपिएको समयसीमा आगामी चैत महिनामा सकिँदैछ। ढिलासुस्ती र विभिन्न बाहाना बनाउने निर्माण व्यवसायीलाई आयोजनाले सम्झौता तोड्ने र बैक ग्यारेन्टीसमेत जफत गर्ने चेतावनी दिएपछि पछिल्लो समय आयोजनाको कामले गति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।