उदयपुर– उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा हालै बेलिब्रिज जडान भएको छ। पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्।
मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका–५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका–१ लिच्की राम्चे बीचमा पर्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु गरेर बिहीबार सम्पन्न भएको हो।
औपचारिकरूपमा उदयपुरको गाईघाटदेखि दिक्तेलसम्म यातायातका साधन सञ्चालन भएको गाईघाट–दिक्तेल सडक कार्यालयका प्रमुख गोपालप्रसाद खकुरेलले बताए। पचास मिटर लम्बाइ र ६.५ मिटर चौडाइको उक्त बेलिब्रिज जडान रेग्मी कन्स्ट्रक्शन निर्माण कम्पनी प्रालि गाईघाटले रु ७६ लाखको बजेटमा सम्पन गरेको हो।
सुनकोशीमा बेलिब्रिज जडानसँगै छ महिनासम्म सिधा यातायात सेवा बन्द थियो। गाईघाट–दिक्तेल सडकअन्तर्गत प्रत्येक वर्ष हिउँदमा जडान गरिने र वर्षायाममा सुनकोशीको पानी बहाव बढेसँगै सुनकोशीको बेलिब्रिज छ महिनाका लागि खोलिने गरेको गाईघाट–दिक्तेल सडक कार्यालयले जनाएको छ।
गत जेठमा खोलिएको उक्त बेलिब्रिज छ महिनापछि फेरि हिउँद लागेसँगै जडान गरिएको हो। सुनकोशीमा स्थायी पुल निर्माण सम्पन्न नहुँदा अस्थायीरूपमा यातायात सञ्चालन गर्न सुनकोशीमा छ महिना हिउँदमा बेलिब्रिज जडान गरिने र छ महिना बर्खामा खोलिने गरेको छ।
वर्षमा ६ महिनासम्म गाईघाट–दिक्तेल सडकमा यातायात सञ्चालन बन्द हुँदा खोटाङ उदयपुरका पहाडी क्षेत्र जाने र पहाडी क्षेत्रबाट तराई झर्ने यात्रुहरूले समस्या भोग्दै आएको हिमाली यातायात व्यवसायी संघ गाईघाटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।