काठमाडौं– बाढीपहिरोका कारण क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको मुहानसम्म सडक मर्मत गरिएको छ। गत असार १ र साउन १७ गते आएको बाढीपहिरोका कारण सडक र पुल बगाउँदा मेलम्चीको मुहान सडकमार्गबाट सम्पर्क विच्छेद भएको थियो।
बाढीले आयोजना स्थलसम्म पुग्ने छ किलोमिटर सडक र पाँचवटा पुल बगाएको थियो। मेलम्ची बजारदेखि मुहानसम्म अस्थायी सडक र पुल निर्माण गरी सञ्चालनमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
यसअघि सडकमार्ग भएर आयोजना स्थलसम्म पुग्न नसक्दा आयोजनाको मुहान, हेड वक्र्स र सुरुङमा पुगेको क्षतिबारे यकिन हुन सकेको थिएन। अब सहज रूपमा आयोजनाको क्षतिबारे अध्ययन गरी पुनर्निर्माणको काम सुरु गर्न सकिने आयोजनाले जनाएको छ।
मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोबाट क्षति पुगेका संरचनाको पुनर्निर्माण तथा उपत्यकामा मेलम्चीको पुनः पानी ल्याउने गरी विस्तृत कार्ययोजना तयार गरी खानेपानी मन्त्रालयमा बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।