रसुवा– ठूलोभार्खुदेखि ठूलोस्याफ्रुसम्मको सडक स्तरोन्नतिलाई निरन्तरता दिने सहमतिपछि ठूलोस्याफ्रुका बासिन्दाको आन्दोलन स्थगित भएको छ।
आन्दोलनरत पक्ष र सरोकारवाला निकायबीच जिल्ला प्रशासन कार्यालयमा बुधबार भएको वार्तामा बिहीबारदेखि पुनः सडक स्तरोन्नतिको काम सुरु गर्न चारबुँदे सहमतिपछि आन्दोलन स्थगित भएको हो।
सडक निर्माण अगाडि बढाउने विषयमा गोसाइँकुण्ड गाउँपालिकाका जनप्रतिनिधि, सडक डिभिजन कार्यालय, लाङटाङ राष्ट्रिय निकुञ्ज र ठूलोस्याफ्रुका बासिन्दाबीचको वार्तामा काम सुरु गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए।
समिति निर्माण गरी समस्या समाधान गर्ने सहमतिपछि स्थानीयले आन्दोलन स्थगित गरेको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पू तामाले बताए। ठूलोभार्खुदेखि ठूलोस्याफ्रुसम्मको ९ किलोमिटर सडक स्तरोन्नतिका क्रममा हाल चार मिटरको सडक नालीसहित निर्माण गर्ने, रुख कटान नहुने स्थानहरुमा मात्र पासिङजोन निर्माण गरिने, सानो ठाउँमा ग्याबिन राखिने र अप्ठ्यारा स्थानमा मात्र ठेकेदारले काम गर्ने र वातावरणीय प्रभाव मूल्यांकन (इआइए)को अवधारणा अनुसार काम गर्ने सहमति भएको छ।
वार्तामा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले आफूहरु विकासको बाधक नभएको बताउँदै नियम अनुसार प्रक्रिया पु¥याएर काम गर्न आग्रह गरेका छन्।
सडक स्तरोन्नति गर्ने क्रममा वातावरणीय प्रभाव मूल्यांकन नगरी सडक डिभिजन कार्यालयले टेन्डर गरी ठेक्का प्रक्रियामा गएकाले लाङटाङ राष्ट्रिय निकुञ्जले सडक स्तरोन्नतिमा रोक लगाएपछि स्थानीयले मंगलबार साँझ ६ बजेदेखि निकुञ्ज कार्यालय घेराउ गरेका थिए।
१८ महिनामा निर्माण सम्पन्न हुनुपर्ने काम पटकपटकको अवरोधका कारण ढिला हुँदै गएको छ। २०७४ जेठमा सम्झौता भएको उक्त सडक २०७६ बैसाखभित्र सम्पन्न गरिसक्नुपर्ने म्याद रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।