काठमाडौं– प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत एक सइविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ।
सइ सुरजप्रसाद ज्ञवालीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नियुक्ति लिएको खुलेपछि मुद्दा दायर भएको हो। उनले प्रहरी भर्नामा माध्यामिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय वाराणासीबाट प्राप्त गरेको इन्टरमिडियट तह पास गरेको भन्दै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए।
उनले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।