रसुवा– रसुवामा जिल्लाको समग्र आर्थिक क्रियाकलापको अवस्था पत्ता लगाउन पहिलो पटक गरिएको आर्थिक गणना सकिएको छ।
बैसाख १ गतेदेखि सुरु गरेर जेठ मसान्तसम्म गरिएको गणनामा जिल्लाभित्रमा १ हजार ३ सय ७६ वटा आर्थिक इकाइको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालय रसुवाका प्रमुख मोहन पुडासैनीले जानकारी दिए। जिल्लाको गोसाइँकुण्ड गाउँपालिकामा ४ सय ६०, आमाछोदिङमो गाउँपालिकामा १ सय ६०, कालिका गाउँपालिकामा ३ सय १४, नौकुण्ड २ सय ८ र उत्तरगया गाउँपालिकामा दुई सय ३४ वटा आर्थिक इकाईको गणना भएको उनले बताए।
जिल्लामा रहेका होटल, किराना पसल, उद्योग, विद्यालय, गैरसरकारी संस्था, उपभोक्ता समिति लगायत आर्थिक क्रियाकलाप गर्ने संगठनको गणना गरिएको गणना कार्यालयले जनाएको छ।
गणना गरिएको संकलित फारम तथ्यांक विभागमा बुझाउने तयारी भइरहेको पुडासैनीले बताए। भदौसम्ममा केन्द्रीय तथ्यांक विभागले प्रारम्भिक नतिजा निकाल्ने र आगामी आर्थिक वर्षमा वडागत रुपमा नतिजा निकाल्ने बताइएको छ।
आर्थिक गणनामा करिब १३ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। गणनाका लागि दुई महिनासम्म जिल्लाका विभिन्न ठाउँमा ८ जना गणक परिचालन गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।