हेटौंडा– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेताहरुबीच आपसमा मेल हुनुपर्ने बताएका छन्। हेटौंडामा जारी पार्टीका जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले एक भएर कांग्रेसलाई अग्र दिशामा लैजान शीर्ष नेताहरुको भूमिका हुने बताए।
कोइरालाले सभापति, वरिष्ठ नेता तथा अन्य नेताहरुबीच मेल नभई पार्टीको भविष्य उज्ज्वल हुन नसक्ने बताए।
'म यही मञ्चबाट तपाईंहरुलाई आह्वान गर्न चाहन्छु', महामन्त्री कोइरालाले भने, 'यही भेलाबाट एक ढिक्का भएर राष्ट्र निर्माणतर्फ जानुपर्छ।'
कोइरालाले अगाडि भने, 'अहिले वामपन्थी एकता भएको छ, उत्तर कोरिया र अमेरिकाबीच पनि एक किसिमको एकता भएको छ। हामीबीचमा भने किन तिक्तता? यसको अन्त्य हुनुपर्छ।'
महामन्त्री कोइरालाले कांग्रेसले मुलुकमा धेरै परिवर्तन ल्याए पनि त्यही कुरा चुनावमा भन्न नसकेको बताए।
'चुनावमा जाँदा गुट-उपगुटका कारण कांग्रेसको यो अवस्था भएको हो', उनले भने।
उनले वामपन्थीहरु एकजुट भएर पनि कांग्रेसलाई हराउन नसक्ने तर आफूहरु एकजुट हुनुपर्ने बताए।
सभापतिको भेलामा गहन छलफल गर्न उनले आग्रह गरे। 'भेलाबाट निस्किँदा एक स्वरले भन्न सक्नुपर्छ, कांग्रेस अब एक भयो', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।