काठमाडौं– दिवंगत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम बिदाइ गरेका छन्।
बाँसबारीस्थित न्यूरो अस्पताल परिसरमा राखिएको डा देवकोटाको पार्थिव शरीरमा सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका हुन्। देवकोटाको सोमबार साँझ सोही अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
डा देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् देवकोटाका विद्यालय तहका सहपाठी डा बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए। स्वर्गीय देवकोटालाई उनको इच्छा अनुसार नै निधनपछि दौरा, सुरुवाल, ढाकाटोपी र कोट लगाइएको छ।
उनको पार्थिव शरीरलाई केहीबेरपछि पशुपतिनाथमा विद्युतीय शवदाह गृहमा लगी अन्त्येष्टि गर्ने तयारी छ।
पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटा स्वदेशमै देहत्याग गर्ने इच्छाले बेलायतबाट नेपाल फर्केका थिए। उनको इच्छा अनुसार गत साता उहाँलाई गोर्खास्थित जन्मघरमा पनि लगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।