काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छिन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले डा देवकोटाको शव राखिएको बाँसबारीस्थित न्यूरो अस्पताल पुगेर डा देवकोटाकी धर्मपत्नी डा मधु देवकोटा दीक्षित एवम् छोरीहरुलाई समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीका तर्फबाट शोक सन्देश दिएका थिए।
सन्देशमा राष्ट्रपति भण्डारीले डा देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै गहिरो दुःख प्रकट गरेकी छिन्।
डा देवकोटाको सोमबार साँझ निधन भएको थियो। अन्तिम श्रद्धाञ्जलि दिन उनको शवलाई अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ। दिउँसो १ बजेपछि शवयात्रा गरी पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा डा देवकोटाको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।