सल्लेरी, सोलुखुम्बु- वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिं राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहेकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबार पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिए।
सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई ती महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ। 'स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो,' उनले भने।
यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
यता सेवाग्राही निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।